दल

माओवादीले थप्याे २२ केन्द्रीय सदस्य

इकागज |
साउन १९, २०८० शुक्रबार १९:१२ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकले २२ केन्द्रीय सदस्य थप गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानअनुसार ३५ प्रतिशत महिला पुर्याउन २२ जना सदस्य थप गरेको हो । थपिएका सदस्यहरूको नाम केन्द्रीय समिति बैठकले अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।


यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । अहिले केन्द्रीय समितिको आकार केही ठूलो देखिएपछि विधान सम्मेलनपछि केन्द्रीय समितिको आकार सानो बनाइने प्रवक्ता महराले बताए ।

शुक्रबार अध्यक्ष प्रचण्डमाथिको प्रतिवेदनमाथि ६८ जनाले धारणा राखेको र जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता महराले जानकारी दिए । उनले बोले अनुसार काम गर्नुपर्ने र पार्टी निर्माणका साथै विस्तारमा सदस्यहरूले जोड दिएको बताए ।

त्यस्तै समान विचार राख्नेसँग एकता र ध्रुवीकरण गर्नुपर्नेमा पनि सदस्यहरूको भनाइ रहेको प्रवक्ता महराले बताए । माओवादी बैठक शनिबार बिहान ११ बजे पुन: बस्ने र धारणा राख्ने क्रम जारी रहने महराले जानकारी दिए ।


Author

थप समाचार
x