दल

नेता–कार्यकर्ताहरू एमालेमा फर्किने क्रम देखिएकाले गम्भीर समीक्षा हुनुपर्छ : झलनाथ खनाल

इकागज |
साउन २१, २०८० आइतबार १५:७ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा पार्टी तथा संगठन विस्तारमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा वर्तमान परिस्थितिमा पार्टीले ध्यान दिनुपर्ने समसामयिक विषयहरू लिखित रूपमा पेस गर्दै खनालले सैद्धान्तिक र नीतिगत सवालमा एमालेभन्दा भिन्न पार्टी देखाउनुपर्ने र पार्टी तथा संगठन विस्तार गर्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता–कार्यकर्ताहरू वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिएकाले गम्भीर समीक्षा हुनुपर्ने खनालको भनाइ छ ।


खनालले वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट देखिएका कमजोरीहरूलाई हटाएर पार्टीलाई एउटा सबल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्ने समेत उल्लेख गरेका छन् । स्थायी कमिटी बैठकमा भाद्रमा हुने केन्द्रीय कमिटीमा पेस हुने विभिन्न राजनीतिक, संगठनात्मक प्रतिवेदन लगायतका विषयमा सुझाव लिइएको नेकपा (एकीकृत समाजवादी)का नेता गंगालाल तुलाधरले जानकारी दिए ।

एकीकृत समाजवादीले आगामी माघ महिनामा अधिवेशन गर्ने प्रस्ताव गरेको र महाधिवेशनमा प्रस्तुत हुने सम्पूर्ण दस्तावेजहरूलाई सचिवालयदेखि केन्द्रीय कमिटीले समृद्ध बनाउने उनले बताए । तुलाधरले सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकमा धारणा राख्नेहरूले केन्द्रीय कमिटीमा धारणा राख्न नपाउने व्यवस्था गरिएकाले बैठक केही लामो भएको तुलाधरले जानकारी दिए ।

तुलाधरले माघको दोस्रो साता पार्टीको महाधिवेशन गर्ने र त्यस अवधिसम्म १ लाख सदस्य बनाउने लक्ष्य पुरा गर्ने गरी अघि बढेको उल्लेख गरे । उनले सदनलाई सहज रूपमा अघि बढाउने र प्रभावकारी बनाउनका लागि पार्टीको भूमिकाका बारेमा पनि बैठकमा कुराकानी भएको जानकारी दिए । 


Author

थप समाचार
x