शेखर पक्षको चेतावनीः संस्थापन पक्षले एकलौटी गर्याे, समानान्तर समिति बनाउँछाैं
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षले एकलौटी रूपमा १३ जिल्लाका महिला संघका अध्यक्ष हटाएको भन्दै डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ ।
तेस्रो अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्षलाई एकलौटी हटाएको भन्दै शेखर पक्षले समानान्तर समिति बनाउने चेतावनीसमेत दिएको हो । महिला संघका अध्यक्षले विभिन्न १३ जिल्लाका अध्यक्षलाई कसैसँग पनि परामर्श नगरी हटाएकी थिइन् ।
एकपछि अर्को गर्दै विभिन्न जिल्लाका अध्यक्ष हटाउन थालेपछि शेखर समूहले सभापति शेरबहादुर देउवासहित महामन्त्रीहरूको ध्यानाकर्षण गराएका थिए । तर, जिल्ला अध्यक्ष हटाउने क्रम नरोकिएपछि उनीहरूले केन्द्रदेखि जिल्लासम्म समानान्तर समिति बनाउने चेतावनी दिएका हुन् ।
हुम्लाबाट हटाइएकी रिता शाहीले विधानविपरीत १३ जिल्ला अध्यक्षलाई हटाएर नयाँलाई जिम्मेवारी दिइएको जानकारी दिइन् । ‘सोलुखुम्बु, पर्सा, बारा, सिराहा, सप्तरी, महोत्तरी, कास्की, हुम्ला, झापा, इलाम, ताप्लेजुङ, रौतहट, नवलपरासी जिल्लाका महिला संघ अध्यक्ष एकपछि अर्को गर्दै हटाइएको छ । यो विधानविपरीत भयो भनेर सभापतिदेखि सबै नेताको ध्यानाकर्षण गराइएको छ’ शाहीले भनिन् ।
विधानविपरीत भएका कामलाई नमान्ने उनले चेतावनी दिइन् । हामी पत्रकार सम्मेलन गर्दैछौं । निर्णय नसच्याए आवश्यक पर्दा केन्द्रदेखि जिल्लासम्मै समानान्तर समिति बनाउँछौ,’ उनले थपिन् । अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन गर्दै विधान विपरीतका कदम सच्याउन दबाब दिने तयारी शेखर पक्षले गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया