दल

संसद् बन्धक बन्नु भनेको जनता बन्धक हुनु हो : रास्वपा सांसद श्रेष्ठ

इकागज |
साउन २२, २०८० सोमबार १७:११ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरेको प्रति विरोध जनाएका छन् । श्रेष्ठले संसद् बन्धक बन्नु नेपाली जनता बन्धक हुनु हो भन्दै विरोध जनाएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै भनेका छन्, ‘स्थापित राजनीतिक दलहरूको सिण्डिकेट र शक्ति पृथकीकरणको मर्मविपरीत संसद् बन्धक बन्नु भनेको नेपाली जनता पनि बन्धक हुनु हो ।’


उनले क्रान्तिको इतिहासमा जनतालाई बन्धक बनाउने सरकार धेरै नटिकेको टिप्पणी पनि गरेका छन् । उनले भनेका छन्, ‘क्रान्तिको इतिहासमा जनता बन्धक बनाउने सरकार धेरै टिकेको छैन । टिक्दैन । निरंकुशताको श्रीपेच भिर्ने सत्ताले लोकतन्त्रको आलाप जप्ने दिन गयो अब ।’

सुन तस्करी प्रकरणमा एमालेले अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै करिब दुई सातादेखि बैठक अवरोध गरिरहेको छ । 

एमालेले सोमबारको राष्ट्रिय सभा पनि अवरोध गरेको छ । 

त्यस्तै, एमालेकै अडानका कारण सोमबार दिउँसो १ बजे गरी बोलाइएको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ । 

त्यसो त यो विषयमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षबीच पटकपटक संवाद भएको छ । तर, ती सबै छलफल निष्कर्षविहीन भएका छन् ।

सोमबार शीर्ष नेताहरूबीच बसेको बैठकबाट पनि सहमति जुट्न सकेन । 


Author

थप समाचार
x