दल

‘संसद् चल्दैन, बार्गेनिङ मात्र चल्छ’

इकागज |
साउन २२, २०८० सोमबार १७:२५ बजे

काठमाडौँ– रास्वपाका सभापति रवि लामिछानेले सत्तापक्ष र प्रतिपक्षको बैठकलाई लक्षित गर्दै कटाक्ष गरेका छन् । सत्तापक्ष र प्रतिपक्षबीच संसद् अवरोध हटाउने विषयमा सहमति नजुट्दा देशलाई ठूलो घात भइरहेको लामिछानेले बताएका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठक पनि स्थगित भएपछि उनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्, ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौँ । कयौँ कानुन बनाउनु पर्ने छ, कयौँ कानुनमा संशोधन छन् । जनसरोकारका कयौँ मुद्दामा छलफल र निर्णय गर्नु छ । तर, संसद् चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दुःखद ।’


रास्वपा सांसद विराजभक्त श्रेष्ठले पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरेको प्रति विरोध जनाएका छन् । श्रेष्ठले संसद् बन्धक बन्नु नेपाली जनता बन्धक हुनु हो भन्दै विरोध जनाएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै भनेका छन्, ‘स्थापित राजनीतिक दलहरूको सिण्डिकेट र शक्ति पृथकीकरणको मर्मविपरीत संसद् बन्धक बन्नु भनेको नेपाली जनता पनि बन्धक हुनु हो ।’

उनले क्रान्तिको इतिहासमा जनतालाई बन्धक बनाउने सरकार धेरै नटिकेको टिप्पणी पनि गरेका छन् । उनले भनेका छन्, ‘क्रान्तिको इतिहासमा जनता बन्धक बनाउने सरकार धेरै टिकेको छैन । टिक्दैन । निरंकुशताको श्रीपेच भिर्ने सत्ताले लोकतन्त्रको आलाप जप्ने दिन गयो अब ।’

सुन तस्करी प्रकरणमा एमालेले अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै करिब दुई सातादेखि बैठक अवरोध गरिरहेको छ । 

एमालेले सोमबारको राष्ट्रिय सभा पनि अवरोध गरेको छ । 

त्यस्तै, एमालेकै अडानका कारण सोमबार दिउँसो १ बजे गरी बोलाइएको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ । 

त्यसो त यो विषयमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षबीच पटकपटक संवाद भएको छ । तर, ती सबै छलफल निष्कर्षविहीन भएका छन् ।

सोमबार शीर्ष नेताहरूबीच बसेको बैठकबाट पनि सहमति जुट्न सकेन । 


Author

थप समाचार
x