दल

ल्हारक्याल लामा नियुक्तिको कांग्रेसले स्वामित्व बोक्दैन : महामन्त्री शर्मा

इकागज |
साउन २२, २०८० सोमबार १८:३६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गर्नुले गलत सन्देश प्रवाह भएको बताएका हुन् । उनले विवादास्पद छविका लामाको नियुक्तिप्रति नेपाली कांग्रेसको प्रष्ट विमति रहेको भन्दै सो निर्णयको स्वामित्व कांग्रेसले नलिने उल्लेख गरे ।


सरकारको सो निर्णयप्रति नेपाली कांग्रेस पार्टीको आपत्ति रहेको शर्माले बताए । उनले सरकारको निर्णयप्रति पार्टीबाट सरकारमा समावेश उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि आफूले ध्यानाकर्षण गराएको जिकिर गरे । लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्दैगर्दा सम्बन्धित व्यक्तिको छविको विषयमा ध्यान नपुर्याउनु सरकारको गम्भीर गल्ती भएको उनले बताए ।

महामन्त्री शर्माले संसद् अवरुद्ध गरेर बाहिरबाट समाधान खोज्नु संसदीय प्रक्रिया नभएको भन्दै अवरुद्ध संसद् खोलेर बहस गरी निष्कर्षमा पुग्नुपर्ने भनाइ राखे । उनले हरेक विषय आउनासाथ संसद् अवरोध गरिहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।


Author

थप समाचार
x