दल

कांग्रेस कैलालीद्वारा दुई नेतालाई साधारण सदस्य समेत नरहने गरी निलम्बन

इकागज |
साउन २३, २०८० मंगलबार १४:३१ बजे

कैलाली- नेपाली कांग्रेस कैलालीले दुई जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बित गरेको छ ।

जिल्ला सभापति नारायण दत्त भट्टले पार्टीको हितको बर्खिलाप हुने गरी र पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता र कार्यकर्ताको मानहानि हुने गरी सार्वजनिक अभिव्यक्ति दिएको भन्दै लोकराज पाण्डेय 'आगो' र सुरत कार्कीलाई साधारण सदस्य समेत नरहने गरी निलम्बित गरेको विज्ञप्ति मार्फत जनाएका छन् ।


साधारण सदस्य समेत नरहने गरी निलम्बित गरिएका पाण्डे र कार्की कैलालीको अत्तरीया क्षेत्रबाट राजनीति गर्दै आएका छन् । पाण्डेय नेपाली कांग्रेसको पूर्व क्षेत्रीय सचिव र कार्की क्षेत्रीय सल्लाहकार हुन् ।

पार्टीले कारबाही गरेका पाण्डेय र कार्कीका विषयमा भने कैलाली कांग्रेसका उपसभापति भीम बडुवालले असहमति जनाएका छन । उनले सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी गराएका हुन् । 

बडुवाले सामाजिक सञ्जाल फेसबुकमा उक्त कुराको जानकारी दिएका हुन् ।

'नेपाली कांग्रेसस कैलालीका नाममा आएको यो निर्णयमा मेरो सहमति छैन । यो विषयमा म लगायत जिल्ला कार्यसमिति ,कार्यसम्पादन समिति र पदाधिकारी कसैसँग पनि सल्लाह भएको छैन । बिनाआधार, बिनाप्रमाण र बिनातथ्य कसैसँग पूर्वाग्रह राखेर गरिने निर्णय पार्टीको निर्णय मानिने छैन । कारबाही गरिँदा अनुशासन समितिको पूर्ण सहमतिले गर्नु आवश्यक छ, साथै उभियुक्तलाई आफ्नो प्रतिवाद गर्ने मौका पनि दिनुपर्दछ । यो कार्यबाहीको सन्दर्भमा उनीहरू दुवै जनालाई स्पष्टीकरण समेत सोधिएको छै न । आफ्नो स्पष्टीकरण  राख्ने अवसर समेत दिइएको छैन । जिल्ला कार्यसमिति भित्र अनुशासन समिति पनि रहेको र त्यो समितिको सहमति पनि अनिवार्य रूपमा लिनुपर्ने सामान्य ज्ञान पनि नराखी गरिएको कारबाहीप्रति मेरो पूर्ण रूपमा असहमति रहेको जानकारी गराउँदछु । अर्को एउटा कुरा के हो भने जिल्ला कमिटीलाई कारबाही होइन कारबाहीको सिफारिस गर्ने अधिकार मात्रै हो । कारबाही तत्काल फिर्ता लिन म अनुरोध गर्दछु ।'

 


Author

थप समाचार
x