सुन तस्करी प्रकरण छानबिनको जिम्मेवारी राज्य व्यवस्था समितिलाई दिऊ : रमेश लेखक
काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणको छानबिनका लागि निगरानी राख्ने जिम्मेवारी संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।
सो सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्ष एमालेको अडानमा सत्तापक्ष सहमत नभइरहेका बेला उनले यस्तो सुझाव दिएका हुन् । मंगलबार अपरान्ह संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक लेखकले राज्यका स्थायी निकायहरूलाई छानबिन गर्न दिने तर त्यसमाथि पनि अनुसन्धान गर्न र आवश्यक निर्देशन दिन सक्ने गरी सो कामको जिम्मेवारी राज्य व्यवस्था तथा सुशासन समितिलाई दिन उपयुक्त हुने तर्क गरे ।
उनले संसदीय समितिले सिआइबीलगायतका राज्यका निकायले सो प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन नसक्ने देखे सोही समितिले नै अनुसन्धानका लागि अर्को छानबिन समिति बनाउन सरकारलाई निर्देशन गर्न सक्ने व्यवस्था गर्दा हुने सुझाव समेत दिए ।
प्रमुख सचेतक लेखकले सो संसदीय समितिले सुन प्रकरणको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीसँग समेत आवश्यक पर्दा समितिमै बोलाएर छलफल गर्न सक्ने पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया