प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्ष : एमालेले सर्तबन्दी गर्दैन
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै सर्तबन्दी नगर्ने बताएका छन् ।
बिहीबार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै सर्तबन्दी नहुने बताएका हुन् । बुधबार प्रधानमन्त्री पुष्ककमल दाहालले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तनका लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानका आधारमा प्रदेशको नामकरण गर्ने उद्घोष गरेका थिए ।
प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोही प्रदेशको नाम परिवर्तनका लागि एमालेले सर्तबन्दी नगर्ने उल्लेख गरेका हुन् । उनले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हितमा सधैंभरी दृढतापूर्वक उभिने बताए । उनले एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आइएलओ महासन्धि पनि आफूहरूकै नेतृत्वमा नेपालमा अनुमोदन भएको उल्लेख गरे ।
उनले आफूहरूकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै यसबाट पनि एमाले आदिवासी जनताको पक्षमा रहेको स्पष्ट हुने बताए ।
नेम्वाङले राज्यको तर्फबाट फूलपाती र शिवरात्रि पर्व मनाएजस्तै अन्य धर्मावलम्बीहरूले मनाउने चाडपर्वहरूलाई पनि राष्ट्रिय चाडपर्वका रूपमा मनाउनुपर्नेमा जोड दिए । उनले यसका निम्ति एमालेले पहल र नेतृत्व लिनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया