दल

सांसद शर्मालाई किन पक्राउ गरेको भन्नेबारे जानकारी लिइरहेका छौं : कांग्रेस

इकागज |
साउन २५, २०८० बिहीबार १९:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताएका छन् ।​  बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको र किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि पार्टीको धारणा बनाउने उनले जिकिर गरे । उनले संसद् चलिरहेको बेलामा कुनै पनि पक्राउ गरेमा तत्काल त्यसको जानकारी सम्बन्धित संसदमा जानकारी गराउनुपर्ने र त्यसबारेमा पनि सभामुखलाई सांसद शर्मा पक्राउ परेको जानकारी तत्काल गराएको हो वा होइन भन्नेबारेमा जानकारी लिने काम गरिरहेको बताए ।


लेखकले हाउस चलिरहेको बेलामा देवानी मुद्दामा सांसदलाई पक्राउ गर्न नपाइने र सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइए पनि कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन् ? के छानबिन गर्ने कुरा हो ? यसमा आधिकारिक जानकारी लिएपछि मात्रै कांग्रेसले आफ्नो धारणा बनाउने बताए ।

प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको कार्य सम्पादन समितिको बैठकले शुक्रबार बस्ने संसदीय दलको बैठकबारे एजेण्डाहरू तय गर्नुका साथै त्यसको पूर्व तयारीको बारेमा छलफल भएको बताए । कार्यसमितिको बैठक बस्यो । संसद् कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने, बजेट कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा सदनमा रहेका विचाराधीन विधेयक संसदमा ल्याउने कुरामा शुक्रबार बस्ने संसदीय दलको बैठकमा छलफल हुने उनले जानकारी दिए ।

कांग्रेस सदनको अवरोध चाँडोभन्दा चाँडो हट्नुपर्छ भन्ने पक्षमा रहेको उनले बताए ।

 


Author

थप समाचार
x