दल

कांग्रेस संसदीय दलको बैठक : सांसद शर्मा पक्राउ अनुचित र आपत्तिजनक

इकागज |
साउन २६, २०८० शुक्रबार १७:४१ बजे

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सांसद शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको र थप अध्ययनपश्चात धारणा सार्वजनिक गर्ने मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।


बैठकमा सांसदहरूले गम्भीर ढंगले उक्त विषयलाई उठाएको भन्दै लेखकले थप छलफल गरी आइतबार बस्ने बैठकले उचित निर्णय लिने बताए । उनले पक्राउ अनुचित र आपत्तिजनक रहेको सांसदहरूको भनाइ रहेको र बैठकले गम्भीरतापूर्वक लिएको उल्लेख गरे ।​

संसदीय दलको बैठकले बाढी पहिरो र डुबानबाट भएको क्षतिका आधारमा भौतिक संरचनाको पुनर्निर्माण, राहत उद्धारको व्यवस्था गर्न माग गरेको छ भने लम्की स्किनका कारण किसानलाई ठूलो क्षति भएको भन्दै यसको नियन्त्रण र उचित क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले डेंगी र आखा पाक्ने रोगको उपचारको उचित व्यवस्था र रोकथामको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको मुख्य सचेतक लेखकले बताए । बैठकले तराईका केही क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण रोपाई र खानेपानीको समेत समस्या भएकाले उचित ध्यान दिन आग्रह गरेको उनले बताए । लेखकले जनताको सरोकारका विषयहरू अभिव्यक्ति हुने संसदलाई लगातार अवरुद्ध गर्नु आपत्तिजनक विषय भएको जिकिर गरे ।

उनले सदन खुलाउन प्रतिपक्षी र सरकार गम्भीर हुनुपर्ने धारणा राखे । कांग्रेस संसदीय दलको बैठक आइतबार पुन: बस्ने लेखकले जानकारी दिए ।


Author

थप समाचार
x