दल

सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गरौँ : सांसद पौडेल

इकागज |
साउन २६, २०८० शुक्रबार १८:४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने धारणा राखेका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने बताएका हुन् । उनले प्रतिपक्ष दलले उच्चस्तरीय छानबिन समितिको माग गरेको र सत्तापक्ष सरकारी संयन्त्रबाट गर्न छानबिन गर्ने पक्षमा रहेको उल्लेख गर्दै मध्यम बिन्दुका रूपमा संसदीय समितिबाट छानबिन गर्न सकिने बताएका हुन् ।


संसदीय समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि बयानका लागि बोलाउन सक्ने उनको भनाइ छ । उनले संसदीय समितिले प्राविधिक रूपमा सिआइबी लगायतका सरकारी संयन्त्रहरूलाई पनि प्रयोग गर्नसक्ने जिकिर गरे । सांसद पौडेलले संसदीय समितिले विज्ञहरूको समिति बनाएर त्यसको सुझाव र प्रतिवेदन लिएर पनि छानबिन गर्नसक्ने उल्लेख गरे । उनले संसद् भित्रैबाट सांसदहरूको उच्चस्तरीय छानबिन समिति बनाउनुको कुनै अर्थ नभएको बताए ।

सांसद पौडेलले संसद् सधैं अवरुद्ध गरेर गाई जात्रा देखाइएको टिप्पणी समेत गरे । संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहलकदमी लिनुपर्ने उनकाे धारणा छ । संसदको अवरोध खुलाउन मुख्य रूपमा तीन शीर्ष नेताहरूको जिम्मेवारी भएको उनले बताए ।


Author

थप समाचार
x