दल

ललिता निवास प्रकरणमा थप छानबिन हुनुपर्छ : बाबुराम भट्टराई

इकागज |
साउन २७, २०८० शनिबार १४:१७ बजे

सुर्खेत- पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा थप छानबिन हुनुपर्ने बताएका छन् । ललिता निवास प्रकरण अंश-अंशमा गरी छानबिन हुनुभन्दा समष्टिगत ढंगले छानबिन हुनुपर्ने उनको भनाइ छ ।

पार्टी प्रशिक्षणका क्रममा सुर्खेत आएका भट्टराईले पत्रकारहरूसँग कुरा गर्दै ठूला भ्रष्टाचारका काण्डहरूमा निष्पक्ष ढंगले छानबिन गरिनुपर्ने माग राखे । ‘हामीले उठाएका ५/६ वटा विषयहरू अझै पूरा भएको छैन,’ भट्टराईले भने, ‘चरम भ्रष्टाचारको बिगबिगी पहिला पनि थियो  तर, गणतन्त्र पछि अझ बढेको छ ।’


उनले राष्ट्रिय हितभन्दा पनि सत्ताको लागि विभिन्न दलसँग सम्झौता गर्ने प्रचलन रहेको बताए । उनले प्रमुख भ्रष्टाचारका घटनालाई उच्चस्तरीय आयोग गठन गरेर छानबिन गर्नुपर्ने भनाइ राखे । भ्रष्टाचारको काण्ड हेर्ने जिम्मा पाएको अख्तियार निकै कमजोर भएको उनले औंल्याए । ललिता निवास प्रकरणमा आफ्नो नाम पनि जोडिएको भन्दै उनले भने, ‘मैले विगतदेखि नै भन्दै आएको छु, छानबिन गरौँ भनेर, म छानबिनमा सहयोग गर्न तयार नै छु ।’

भ्रष्टाचारका घटनाहरू उच्चस्तरीय आयोगमार्फत छानबिन गरिनुपर्ने तर्क उनको छ । उनले देशमा भएका सबै खाले भ्रष्टाचारको छानबिन हुनुपर्ने तर्क राखे । ‘ललिता निवासको विषयमा मेरो पालनामा सानो निर्णय भएको हो, ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो,’ उनले भने,‘ त्यो मेरो नियतबस् नभइ मन्त्रिपरिषद्को निर्णय हो । म छानबिनका लागि तयार छु ।’

वर्तमान सरकारको भविष्यबारे बोल्दै उनले सत्ता परिवर्तनको खेल खेल्नुभन्दा संविधान नै संशोधन गर्नुपर्ने धारणा राखे । ‘कुनै पनि दलको बहुमत नहुने, कसैले चाहे जतिबेला पनि गठबन्धन परिवर्तन हुने हुँदा हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्छ,’ उनले भने, ‘गठजोडकाे खेलमा लाग्नुभन्दा संविधान नै संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ भन्ने हाम्रो आग्रह हो ।’ साथै उनले आन्तरिक एकता कायम गर्नेतर्फ अहिलेका मुख्य राजनीति दलहरू अग्रसर नभएको प्रतिक्रिया समेत दिए ।

यस्तै अध्यक्ष भट्टराईले गरिबी तथा बेरोजगार अन्त्यका लागि वर्तमान सरकार नलागेको भन्दै यसको अन्त्यका लागि लाग्नुपर्नेमा जाेड दिए ।


Author

थप समाचार
x