दल

अर्थमन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीका कारण नेपाल तस्करहरूको स्वर्गजस्तो भयाे : भीम आचार्य

इकागज |
साउन २७, २०८० शनिबार १७:१८ बजे

विराटनगर- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यले सुन तस्करी लगायत विभिन्न घोटालामा सरकारले गरेका सबै छानबिन आग्रहपूर्ण भएको दाबी गरेका छन् ।

कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै आचार्यले सरकारले गरेका कुनै पनि छानबिनमा जनताको विश्वास नदेखिएको बताए । उनले अर्थमन्त्रीदेखि गृहमन्त्री र प्रधानमन्त्रीका कारण नेपाल तस्करहरूको स्वर्ग जस्तो प्रमाणित भएको आरोप समेत लगाए ।


‘सरकार भिजनलेस भएको छ, अर्थमन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीसम्मका कारण मुलुक तस्करको स्वर्ग बनेको छ,’ आचार्यले भने, ‘सरकारले आग्रह राखेर छानबिन गर्ने काम भइरहेको छ, कुनै पनि छानबिनमा जनताको विश्वास छैन ।’

उनले सरकारका कारण निजी क्षेत्रको घाँटी निमोठिने गरी नीति निर्माण भइरहेको बताए । सरकारले दलाल र घुसखोरी अर्थतन्त्रको विकास गरेको पनि आचार्यले आरोप लगाए । सरकारको गलत अर्थनीतिकै कारण मुलुकको आर्थिक अवस्था ओरालो लाग्दै आएको आचार्यकाे भनाइ छ ।

साथै राजनीतिक वातावरण नबनेका कारण आफू समयमा प्रदेशको मुख्यमन्त्री बन्न नसकेको पनि जिकिर गरे । प्रदेशलाई बनाउने सोचका साथ प्रदेश संरचनाको पहिलो कार्यकालमा आफू प्रदेशमा झरे पनि दुई महिनामात्रै मुख्यमन्त्री बन्न पाएको र त्यो कार्यकालमा समेत प्रदेशको विकासका लागि धेरै क्षेत्रमा जग बसाएको दाबी उनले गरे ।

कार्यक्रमका अवसरमा कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानको तर्फबाट पत्रकार सुशिला पाठकलाई २१ हजार ११५ रुपैयाँ राशिको पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । साथै युवा व्यवसायीतर्फ अनमोल प्रधान र महिला उद्यमी प्रतिभा रिजाल ओली सम्मानित भएका छन् ।

स्वर्गीय कृष्णप्रसाद सिग्देलका परिवारको अग्रसरतामा स्थापित प्रतिष्ठान र परिवारले सञ्चालन गर्दै आएको ढुवानी व्यवसाय सम्बद्ध कर्मचारी र मजदुरहरूको कल्याण कोषलाई समेत प्रोत्साहन रकम प्रदान गरिएको थियो ।

विराटनगरमा ढुवानी व्यवसायको जग बसाउन सुरु गर्ने सिग्देलको १४ वर्षअघि हृदयघातका कारण निधन भएको थियो । उनले सुरु गरेको स्वस्तिका ढुवानी सेवा अन्तरगत हाल तीन सय मजदुर र कर्मचारी कार्यरत रहेको प्रतिष्ठानका कोषाध्यक्ष एवं स्वर्गीय सिग्देलका छोरा संजीव सिग्देलले जानकारी दिए । प्रतिष्ठानले सुनसरीको मधुवनस्थित जनता माध्यमिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी सौगात मल्ललाई १५ हजार १११ रुपैयाँ राशिको छात्रवृत्ति समेत प्रदान गरेको छ ।


Author

थप समाचार
x