दल

नेपालतर्फका सांसद्लाई आफूतिर तान्दै ओली

इकागज |
जेठ ९, २०७८ आइतबार २१:१३ बजे

काठमाडौँ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फ रहेका एमाले सांसद र नेताहरूलाई अध्यक्ष  केपी शर्मा ओलीले सबै खालको शक्ति लगाएर आफ्नोतर्फ लगिरहेका छन् । तत्कालीन नेकपा कायम रहँदा वरिष्ठ नेता नेपाल निकट सांसदहरूको संख्या झण्डै ४० थियो । अहिले प्रमुख विपक्षी दल कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री सिफारिस हस्ताक्षरसम्म आइपुग्दा आधा भएका छन् ।

राष्ट्रपतिसमक्ष हस्ताक्षर लैजादा २६ थिए । भोलि रिट दायर गर्ने २१ जनाको हस्ताक्षर भएको र अन्य एक दुईजनाले सोमबार बिहान हस्ताक्षर गर्ने तयारी रहेको एक नेताले बताए । सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेपालतर्फ भनिएकाहरू नै शक्ति र पदको लोभमा परेर ओलीतर्फ ढल्केको पनि नेपालतर्फका नेताहरू बताउँछन् ।


कतिपयले नेपाल आफैँ कता लाग्‍ने भन्‍ने ठोस निर्णयमा नपुगेकोले उनीहरू ओलीतर्फ लागेको तर्क पनि गरेका छन् । गत चैत ३ र ५ मा माधव समूहको राष्ट्रिय कार्यकर्ता भेला गर्दा प्रतिनिधि सभाका ३७ सांसद त्यहाँ सहभागी भएका थिए । त्यसयता नेपालतर्फ रहेकालाई विभिन्‍न लोभ र धम्की देखाएर उता लैजाने काम भएको छ । नेपालतर्फ रहेका भनिएका शेरबहादुर तामाङ आरम्भमै ओलीतर्फ लागेका थिए । 

गत वैशाख २६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमा माधव समूहले अनुपस्थित हुने निर्णय लिँदा सांसद संख्या २८ मा झर्‍यो । त्यो बीचमा १० जना संसाद ओलीतर्फ लागिसकेका थिए । त्यसपछि पनि उनलाई साथ दिने सांसदहरू ओलीतर्फ जान थाले । 

सांसद नरहे पनि उनकै प्रेस सल्लाहकार भएका र भित्रिया भनिएका विष्णु रिजालले पनि नेपाललाई छाडे । उनले पनि पदको लोभ वा भविष्य हेरेर निर्णय लिएका होलान् ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउन गरेको आव्हानमा माधव समूहले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्दा संख्या थप तल झरेको छ ।  त्यसदिन २६ जनाले देउवालाई समर्थन गरेकोमा अब २१ जना रहेका छन् ।

सोमबार बिहान दर्ता हुने भनिएको रिटमा अझै पनि नेपाल पक्षका केहीले हस्ताक्षर गरेका छैनन् । हस्ताक्षर गर्न आनकानी गर्नेलाई ओलीले आफ्नोतर्फ तान्‍ने र पदीय लोभमा पार्ने स्पष्ट छ । तर त्यस्तालाई ओलीले दीगो रुपमा आफूमा राख्दैनन् भन्‍ने बुझ्‍न नेताहरूले नसक्नु आश्चर्यजनक रहेको नेपाल निकट नेताले स्पष्ट पारे । 

पूर्वमन्त्री घनश्याम भुसालले भोलिसम्म थप हस्ताक्षर हुने र रिट जाने बताउँदै भने, ‘अधिक हस्ताक्षर आज भइसकेको छ । दुई-चारजना साथी बाहिर हुनाले बिहानै हस्ताक्षर हुनेछ ।’ यसबाट स्पष्ट हुन्छ गत शुक्रबार भएको हस्ताक्षर नघटनाई रिट दिन लागिएको छ । यद्यपि एक, दुई हस्ताक्षर कम हुँदा पनि देउवातर्फ बहुमत नै रहनेछ । 


Author

थप समाचार
x