दल

प्रदीप गिरीको पहिलो स्मृति : 'काठमाडौँदेखि काशीसम्म' लोकतन्त्र सेतु गाथा हुने

गिरीको अस्तु गंगा नदीमा विसर्जन गरिने

इकागज |
साउन ३२, २०८० बिहीबार १७:३३ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको पहिलो स्मृति दिवसमा काठमाडौँदेखि काशीसम्म ‘लोक एवम् लोकतन्त्र सेतु गाथा’ यात्रा हुने भएको छ ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रदीप गिरी पावन स्मृति आयोजक समितिले गिरीको पहिलो वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गरेर उनको अस्तु भारतको गंगा नदीमा विसर्जन गरिने जानकारी दिएको छ ।


काठमाडौँदेखि बनारसको काशीसम्म सेतु गाथा भदौ २ देखि ४ गतेसम्म हुने भएको छ । पहिलो दिनको यात्रा पशुपति मन्दिरको प्राङ्गणबाट सुरु भइ बनारसमा ४ गते टुङ्गिनेछ । यात्रामा करिब ३० जना सहभागी हुने समितिले जनाएको छ ।

समितिका सदस्य कञ्चन झाले पहिलो दिन हेटौडा पुगेर कांग्रेसको पार्टी कार्यालयमा गिरीको स्मृतिमा कार्यक्रम गरिने जानकारी दिए । उनका अनुसार साँझ हेटौंडामा उनको चर्चा हुनेछ । सोही दिन काशी पुग्ने टोली वीरगञ्जमा रात बस्नेछ ।

वीरगञ्जको तिलवा नदीमा अस्तु विसर्जन गरी वृक्षरोपणसमेत गरिने उनले जानकारी दिए । जिल्लामा गिरी र मधेशको सम्बन्धबारेमा चर्चा हुने उनले बताए ।

'एक राजनेताका रूपमा प्रदीप गिरिको प्रभाव त निःसन्देह छ नै, तर उहाँको विरासत राजनीतिभन्दा परसम्म फैलिएको छ । हाम्रो समाज, संस्कृति, साहित्य, इतिहास समृद्ध बनाउन उहाँको दखल र देन उच्च कोटीको छ,' झाले भने, 'अव्यवस्थित तर आनन्ददायी जीवन जिउने व्यक्तिका रूपमा परिचित गिरि आफ्नो चिन्तनमा भने उल्लेखनीय रूपमा संगठित र विचारशील हुनुहुन्थ्यो । हाम्रो सामाजिक-राजनीतिक जीवनमा सिर्जनशिलता बढाउन उहाँको विचार र दर्शनले निकै अर्थ राख्दछ ।'

गिरिका अनुयायीहरूले उनलाई नेपाल-भारत मैत्रीका एक प्रमुख स्तम्भका रूपमा लिएको बताए ।

गिरीलाई अलग राख्दा भारतीय लोकतान्त्रिक आन्दोलनको इतिहास पनि पूर्ण नहुने उनको भनाइ छ । ‘प्रदीप गिरिका भारतीय मित्रगण र शुभेच्छुकहरू पनि यस लोकमा उहाँको योगदान विशिष्ट ठान्छन् । र, नेपाल-भारत सम्बन्धमा उहाँलाई सेतुका रूपमा बुझ्छन्,' उनले अगाडि थपे, 'त्यसैले त भारतीय मित्रहरूले प्रदीप गिरिलाई ‘हिमालयको धिरज र गंगाको गतिशीलता’ को अर्थपूर्ण उपमा दिएका छन् । अर्थात् प्रदीप गिरि नेपालको मात्र नभई छिमेकी मित्रराष्ट्र भारतका समेत निधि हुनुहुन्छ ।'

गिरीको निधन गत वर्ष भदौ ४ गते ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका थिए । घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनियाँ पनि देखिएको थियो ।

गिरी २०१७ सालबाट नै नेपाली राजनीतिमा लागेका थिए । बुवा मित्रलाल गिरी कांग्रेसको राजनीतिमा सक्रिय भएका हुनाले गिरीको राजनीति सानै उमेरबाट प्रारम्भ भएको थियो ।

२०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष उनले जेल जीवन बिताएका थिए । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए ।

२०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए । व्यवस्थापिका संसदमा उनले नेपाली कांग्रेस, प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गरेका थिए ।

भारत, जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्थे ।

 

 

 

 


Author

थप समाचार
x