दल

प्रमुख दलले सिण्डिकेट खडा गरेर राज्यसत्ता कब्जा गरे : कमल थापा

इकागज |
भदौ २, २०८० शनिबार १७:५९ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडा गरी प्रमुख दलहरूले राज्य संयन्त्रमा कब्जा जमाएको आरोप लगाएका छन् ।

थापाले प्रमुख भनिने दलहरूले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुन तस्करी, गौर र टीकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको भन्दै तीव्र रोष प्रकट गरे । 


पार्टीको काठमाडौँ महानगर समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार र मनपरी तन्त्रको अन्त्य चाहने हो भने संघीय गणतन्त्र नाममा अहिले मुलुकमा कायम व्यवस्थाको नै अन्त्य जरुरी भएको समेत बताए । राप्रपा नेपाल भविष्यमा सत्ता केन्द्रित हैन जनता केन्द्रित भएर जनता र देशको हितका लागि अगाडि बढ्ने सङ्कल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे ।

मुलुकमा विदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै थापाले बेरोजगारी, धर्म परिवर्तन, महङ्गीको मारमा सिङ्गो देश पिल्सिएको चर्चा गर्दै सत्ता केन्द्रित फोहाेरी खेलले शासनको उपहास भएको समेत जिकिर गरे ।

कार्यक्रममा नेताहरू तारानाथ लुइँटेल, श्याम घिमिरे, राजकुमार खड्का, दिवेश नापित लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न नवप्रवेशीहरूलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका थिए ।


Author

थप समाचार
x