गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिन्छ : मन्त्री खड्का
बुटवल- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिने बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रूपन्देहीको आयोजनामा शनिबार भैरहवामा भएको प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले तत्काल देखिएका समस्या चाँडै समाधान गर्ने बाटोमा अघि बढ्ने बताएका हुन् । उनले अहिलेको स्रोतसाधनले भ्याएसम्म र ऐन कानुनले अप्ठ्यारो नपार्ने अवस्थामा चाँडै नै समाधान गर्ने बाटोमा अघि बढ्ने जिकिर गरे ।
उपप्रधानमन्त्री खड्काले विमानस्थलबारे उचित तरिकाले टुंगो लगाउन नसकिएको बताए । उनले पर्यटकको ओइरो लाग्ने, आर्थिक उन्नतिको आधार बन्ने ठूलो सपना देखेर नै विमानस्थलमा धेरै ठूलो लगानी भएको उल्लेख गरे । उनले भने, ‘यस विषयमा सम्माननीय प्रधानमन्त्रीसँग पनि कुराकानी गर्नेछु । काठमाडौँमा पनि पटकपटक यसबारे कुरा उठ्ने गरेको छ । यसबारे सरकार र पार्टी केन्द्रको पनि नेताहरूले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।’
मुलुकको अर्थतन्त्रले अनुमति दिन नसक्ने कुराबाहेक संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन सबै अगाडि बढ्ने र चाँडै नै संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति समेत रहेका खड्काले कांग्रेस जनताको सुख र दुःख दुवैमा साथी रहेको बताए । उनले कांग्रेसको सिद्धान्त र विचारसँग जनताको कुनै प्रश्न नरहेको दाबी गरे । उपसभापति खड्काले भने, ‘जिम्मेवारीमा रहेका नेताहरूसँग जनताको गुनासो छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया