दल

राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूको बैठक सुरू, ओली गएनन्

इकागज |
भदौ ३, २०८० आइतबार १३:३१ बजे

काठमाडौँ- संघीय संसद्‌मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुको बैठक सुरू भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीको बैठक बोलाएका हुन् ।


मुलुकमा देखापरेको पछिल्ला समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

गत साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अवरोध हुँदै आएको छ । सोही कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो । सोही विषयमा उच्च्स्तरीय छानविन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ ।

सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानविन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानविन गर्ने बताउँदै आएका छन् ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थिति भएका छैनन् ।


Author

थप समाचार
x