दल

निष्कर्षविहीन सर्वदलीय बैठक, प्रतिनिधिसभा बैठक पनि स्थगित

इकागज |
भदौ ३, २०८० आइतबार १५:१३ बजे

काठमाडौँ- संसदको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ । ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । पुनः सोमबार बस्ने गरी बैठक सकिएको रास्वपा सभापति रवि लामिछानेले बताए ।

सदनको अवरोध हटाउने विषयमा सबै दल सहमत देखिएको जानकारी दिएका उनले बैठकपछि भने, ‘अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्नेछ ।’


सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ । 

एमालेका प्रमुख सचेतक पदम गिरिले आफूहरूले राखेको माग पूरा नभएसम्म अवरोध कायमै रहने बताए । उनले नेपालको छविमाथि प्रश्न उठेको बताउँदै यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाए ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सर्वदलीय बैठकमा सदन सुचारु गर्ने विषयमा छलफल भएको बताए । तर, दलहरूबीच सहमति नजुटेपछि आज आइतबारका लागि बाेलाइएकाे प्रतिनिधि सभा बैठक पनि स्थगित भएकाे छ ।

शीर्ष नेताको बैठकले संसद् सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद् बैठक स्थगित गरिएको हो ।


Author

थप समाचार
x