दल

संसद् नचल्नुमा सरकार र प्रतिपक्ष दुवै दोषी : शेखर कोइराला

इकागज |
भदौ ३, २०८० आइतबार १९:३ बजे

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन् ।​

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संसद् तत्काल सुचारु गराउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रह समेत गरे ।


देश र जनताको कुरा भएकाले संसद् बैठक छिटोभन्दा छिटो सुचारु गराउनुपर्ने नेता कोइरालाको भनाइ थियो । उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वाभाविक भए पनि संसद् बैठक भने सुचारु गराउनुपर्ने बताए ।

नेता कोइरालाले भने, ‘संसद् छिटोभन्दा छिटो चल्नुपर्छ । प्रतिपक्षले यो दुनियाँको नियम हो । संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने । अनि, सत्तापक्षले पनि भन्ने–प्रतिपक्षले गर्न दिएन भनेर । चल्न दिएन भन्ने । तर म के भन्दैछु भने–हामी दुइटै दोषी हौं भन्दैछु । यो सरकारले गर्ने काम हो । प्रतिपक्षले गर्ने काम हो । यो नेपाली कांग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन नि । ’

नेता कोइरालाले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरूले अडान लिन नहुने दोहोर्याए ।


Author

थप समाचार
x