दल

गिरीबन्धु टि स्टेटको जग्गा अनुसन्धान गर्न आवश्यक भए गरे हुन्छः ओली

इकागज |
भदौ ६, २०८० बुधबार २१:१६ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गिरीबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए । उनले सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवाद दिए । अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने बताए । 


उनले भने, ‘म सरकारलाई, सत्तापक्षलाई धन्यवाद भन्छु की उहाँहरू लचिलो भएर आज सदन खुलाउन तयार हुनुभयो । हामी पहिलैदेखि सदन खुलाउने, चलाउने पक्षमा हो । तर यो सुन तस्करीको काण्ड जुन भइरहेको छ, यो सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस्, निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हो । यसमा सरकारले मञ्जुर गरेको थिएन, त्यसकारण तनाव भएको हो । अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको छ । त्यसमा सहमति भयो । गिरीबन्धु चिया स्टेट लगाएका छन्, चिया बनाएका छन् । बिना कानुन पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानुन बनाइदिएका छौँ । जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ ।’

अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन समिति बनेर समितिले सधैँका लागि यस्ता तस्करीहरू रोक्ने गरी अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने बताए । 


Author

थप समाचार
x