पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनःस्थापना : कमल थापा
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनःस्थापना भएको बताएका छन् । बिहीबार काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
थापाले राजसंस्था पुनः स्थापनाको एजेण्डा पार्टीले महत्वपूर्ण एजेण्डाका रूपमा अघि बढाउने जिकिर गरे। उनले विगतमा पार्टीको एजेण्डा राजसंस्था नरहेको भए पनि देशको वर्तमान अवस्था र पार्टीका सहयोगी र शुभचिन्तक र आम कार्यकर्ताको भावनालाई समेट्दै राजसंस्थासहितको प्रजातन्त्र राप्रपा नेपालको मुख्य एजेण्डा हुने उल्लेख गरे ।
उनले संघीय गणतन्त्रको नाउँमा हाल कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य भएपछि कायम गरिने राज्य व्यवस्थाको मूलभूत व्यवस्था जनतामा निहीत सार्वभौम सत्ता, राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार युक्त प्रधानमन्त्री, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, समावेशी र समानुपातिक मान्यता, उदार आर्थिक व्यवस्था र सुशासन हुने बताए ।
अध्यक्ष थापाले संघीयता असफल मात्रै नभइ देशको निमित्त अभिशाप बन्न पुगेको बताए । उनले छोटो अभ्यासको क्रममा संघीयता एवं प्रदेश स्तरीय संरचना अस्थिरता, अराजकता र भ्रष्टाचारको अखडा स्थापित भएको दाबी गरे । उनले प्रदेश संरचनाले आफ्नो औचित्य स्थापित गर्न नसकेकाले संघीयताको नाममा कायम रहेको प्रदेश स्तरीय संरचना तत्काल खारेज हुनुपर्ने बताए ।
अध्यक्ष थापाले नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार सम्पन्न प्रधानमन्त्रीय प्रणाली उपयुक्त हुने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया