दल

माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पत्याउँदैनन् : मन्त्री ज्वाला

इकागज |
भदौ ८, २०८० शुक्रबार १५:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षडयन्त्र भएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी मन्त्री ज्वालाले गरे । समकालीन नेताहरूमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै रहेको समेत उनको दाबी थियो । मन्त्री ज्वालाले भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताए ।


उनले अदालतले दोषी सावित गरे पनि वा ओभरसाइट एजेन्सीहरूले भने पनि त्यसलाई जनताले नपत्याउने बताए ।

उनले भने, ‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ । माधव नेपालले भ्रष्टाचार गर्यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ । सायद समकालीन नेताहरूमध्ये सबैभन्दा स्वच्छ छविको सबैकुराले पूर्ण त कोही पनि व्यक्ति हुँदैन । माधव नेपाल पनि हर हिसाबले पूर्ण होइन होला । कर्मी, सीमाहरू होलान् । तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले माधव नेपाललाई कसैले प्रश्न उठाउन सक्दैन । हामी जुनसुकैले निर्णय गरे पनि त्यसको च्यालेन्ज गर्न तयार छौँ । अदालतले बोलोस्, अरु कसैले बोलोस्, ओभरसाइट एजेन्सीहरूले बोलुन्, त्यसलाई जनताले पत्याउँदैनन् ।’

मन्त्री ज्वालाले माधव नेपालमाथि आरोप लगाएर एकीकृत समाजवादी पार्टी कमजोर बनाउने षडयन्त्र भएको बताए । 


Author

थप समाचार
x