दल

ओलीले सर्वदलीय बैठकमा पनि नेकपा एसलाई निषेध गरे : माधव नेपाल

इकागज |
भदौ ९, २०८० शनिबार १४:१७ बजे

काठमाडौँ- सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन् ।​

शनिबार काठमाडौँमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गरेका हुन् । संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो ।


अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव पनि नगरेको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको उल्लेख गर्दै उनले पार्टीलाई बिजोग बनाएर आफूले भने राष्ट्रपति बन्न त्यतिखेर नचाहेको समेत बताए । अध्यक्ष नेपालले नेकपा ब्यूँताऊ भनेर आफूले पठाएको प्रस्तावलाई पनि ओलीले लत्याएको दोहोर्याए ।

अध्यक्ष नेपालले ओलीको तानाशाही प्रवृत्तिकै कारण विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको पनि बताए ।


Author

थप समाचार
x