दल

शेखर कोइरालाकाे आराेप : प्रधानमन्त्री प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरे

इकागज |
भदौ ९, २०८० शनिबार १६:४७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले धार्मिक सद्‌भाव लड्खडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाएका हुन् ।

प्रतिनिधिसभा सदस्य कोइरालाले भने, ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ । परिस्थिति धार्मिक खासियत लड्खडाएको छ ।’


पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने बताएका नेता कोइरालाले भने, ‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन । संविधानमा लेखिएका कुरा बाहिर कदापि स्वीकार्य हुँदैन । कुनै पनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन ।’

उनले मुलुकको राजनीति कता मोडिएको भन्दा पनि अप्ठ्यारो परिस्थितिमा गएकोप्रति आफू चिन्तित भएको बताए ।

‘देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउँछु भनेर अभिव्यक्ति दिए । त्यो कत्तिको उचित हो ?’ नेता कोइरालाले भने, 'जिम्मेवार व्यक्तिबाट यस प्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ ।’

त्यसैगरी उनले मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको पनि जिकिर गरे । उनले भने, ‘यहाँ देखिएको सुन तस्करले विश्वलाई केन्द्रित गराएको छ । सुन काण्डमा भारत र चीन देखिएका छन् । तर, अरू मुलुकले समेत चलखेल गर्दै आएका छन् । सुन तस्करी काण्डमा सरकारले उच्च स्तरीय छानबिन समितिबाट छानबिन गर्नुपर्नेछ । सुन काण्डको छिनोफानो जनताले बुझ्ने गरी हुनुपर्छ ।’


Author

थप समाचार
x