दल

सत्ता गठबन्धनले बारम्बार संविधान मिचेको छ : झलनाथ खनाल

इकागज |
भदौ ९, २०८० शनिबार १७:३१ बजे

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको सिकार नेकपा (एकीकृत समाजवादी) बन्नु नहुने बताएका छन् ।​

शनिबार काठमाडौँमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले बारम्बार संविधान मिचिरहेको आराेप लगाए ।


खनालले कोशी प्रदेशबारे सर्वोच्च अदालतले दुई पटकसम्म संविधान विरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो ? भन्दै प्रश्न गरे । उनले गठबन्धनले नै संविधानको एक पछि अर्को उल्लंघन गरिरहेको भन्दै यसबारेमा पार्टी क्लीयर हुनुपर्ने बताए ।

‘हामी संविधानको रक्षा गर्ने भन्छौँ तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एक पछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, कोशीमा त दुई पटक संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ ? हाम्रो पार्टी क्लीयर हुनुपर्छ,' उनले भने, 'हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको सिकार हुनु हुँदैन । हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ । त्यसो गरेमात्रै पार्टी स्थापनाको महत्व हुन्छ ।’

पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्नसक्ने सम्भावना भएको पार्टी रहेको बताए ।


Author

थप समाचार
x