नेविसंघको नारा : 'डिन तेरो पाराले, दु:ख पायो साराले' (तस्बिरहरू)
काठमाडौँ- इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गरेको छ । अस्वभाविक रुपमा इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धि गरिएको भन्दै उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको एक सय ४४ प्रतिशतसम्म अवैज्ञानिक र असान्दर्भिक रुपमा शुल्क बृद्धि गरेको भन्दै तुरुन्त फिर्ता दिन माग गरेका छन् भने इन्जिनियरिङ अध्ययन संस्थानलाईसेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने माग गरेका छन् ।
सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षामा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने उनीहरूको भनाइ छ । प्रदर्शनमा नेविसंघका सभापति दुजाङ शेर्पाले विश्वविद्यालय पदाधिकारी र शिक्षामन्त्रीसँग आग्रह गर्दा पनि बढेको शुल्क फिर्ता नभएको भन्दै आफ्ना गुनासो प्रधानमन्त्रीलाई सुनाउन बालुवाटारमा धर्ना दिनुपरेको बताए । शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएकाले विद्यार्थी र अभिभावकलाई मारमा पार्ने गरि शुल्कवृद्धि गर्न नहुने उनको भनाइ छ ।
त्यस्तै नेविसंघकी केन्द्रीय सदस्य मिरा कटुवालले शिक्षाको शुल्क मात्रै बढाउने तर गुणस्तर नवढाउने कुरा स्वीकार्य नहुने बताए ।
त्यस्तै नेविसंघले इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने, विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्ने माग राखेका छन् । उनीहरूले 'डिन तेरो पाराले, दु:ख पायो साराले' लगायत नारा लगाएका छन् ।
तस्बिरहरू : अनुज बज्रचार्य/इकागज
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया