दल

कांग्रेसले भदौ २४ गतेदेखि बिपी साहित्य महोत्सव आयोजना गर्ने

इकागज |
भदौ ११, २०८० सोमबार १५:३ बजे

काठमाडौँ- नेपाली कांग्रेसले कांग्रेसको संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ । कांग्रेसले बिपी कोइरालाको भदौ २४ गते परेको ११० औँ जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भदौ २४, २५ र २६ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए । महोत्सवमा सम्भाषण हुने र महोत्सवका सत्रहरू अन्तर्गत मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबार्ल्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेश, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष शीर्षकमा चल्ने भएका छन् ।


त्यस्तै अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, युवा पुस्तामा बिपी पठन र परिवारले बुझेका बिपी शीर्षकमा समेत सत्रहरू चल्ने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए । महोत्सवमा कविता साँझ, गजल साँझ, सांगितिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनी समेत हुने उनले बताए ।

कांग्रेसले महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्वहरू, बुद्धिजीवी, अध्येता तथा राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुची राख्ने सबैलाई अनुरोध गरेको छ । कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवं सहजकर्ता र महोत्सवको कार्यतालिका छिट्टै नै सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।


Author

थप समाचार
x