लुटतन्त्रको अन्त्यका लागि अब जनता सडकमा आउनुपर्छ : कमल थापा
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा लुटतन्त्र चलिरहेको भन्दै लुटतन्त्रकाे अन्त्यका लागि अब जनता सडकमा आउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
आगामी भदौ २९ गते पार्टीले वृहत् विरोध प्रदर्शन आयोजना गर्ने सन्दर्भमा आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुकमा अब मौलिक संस्करणको राजासहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्ने बताए ।
मुलुकको गेरवशाली इतिहास, धर्म संस्कृति पहिचानलाई समाप्त पार्न योजनाबद्ध रूपमा भएका षड्यन्त्रविरुद्ध नयाँ पुस्ता जागरुक हुनुपर्नेमा जोड दिँदै थापाले घिनलाग्दो भ्रष्टाचारको विरुद्धमा आन्दोलनको विकल्प नभएको समेत बताए ।
राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक समृद्धि र सुशासनको निमित्त अहिलेको व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने थापाको धारणा रहेको छ । सीमित दलका नेताहरूको सेटिङमा राज्य व्यवस्था चल्नु दुर्भाग्यपूर्ण रहेको भन्दै थापाले मुलुकमा विदेशी प्रभाव र दबाब बढ्नुमा नेताहरूकै भूमिका रहेको समेत उल्लेख गरे ।
बैठकमा बोल्दै पार्टीका महामन्त्री राजाराम बर्तौलाले अब पार्टीले सुरु गर्ने आन्दोलनमा नेता कार्यकर्ताको मात्र नभइ जनताको समेत समर्थन र सहभागी हुनुपर्नेमा जोड दिए ।
बैठकले विरोध प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन उपाध्यक्ष जयकुमार खड्काको संयोजकत्वमा आर्थिक परिचालन समिति, उपाध्यक्ष तारानाथ लुइँटेलको संयोजकत्वमा जनपरिचालन समिति, सुनिता कुरुङ्गवाङको संयोजकत्वमा प्रचार -प्रसार समिति, नगेन्द्र देउजाको संयोजकत्वमा स्वयंसेवक समिति गठन गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया