दल

यती, वाइडबडी, गिरीबन्धुलगायतका प्रकरणको छानबिन गर्न सरकारलाई ओलीकाे चुनौती

इकागज |
भदौ ११, २०८० सोमबार १८:५२ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेका व्यक्तिहरू नै विभिन्न प्रकरणमा मुछिएकाले छानबिन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौँमा आयोजना गरिएको जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा ओलीले ललिता निवास, नक्कली भुटानी, सुन तस्करी लगायतका प्रकरणमा सत्तामा रहेका व्यक्तिहरू नै मुछिएकाले छानबिन प्रभावकारी हुन नसकेको आरोप लगाएका हुन् । उनले एउटा प्रकरणको अनुसन्धानलाई कमजोर पार्न सरकारले एकमाथि अर्को प्रकरण ल्याएको पनि तर्क गरे ।


यती होल्डिङस, वाइडबडी, गिरीबन्धु लगायतका प्रकरणको छानबिन गर्न सरकारलाई चुनौती दिँदै ओलीले उक्त प्रकरण छानबिन गर्दा आफूलाई फरक नपर्ने तर सत्तामा रहेका दलका नेताहरू मुछिने बताए । सत्तामा भएकाहरूले नै सुन तस्करी गरेर ध्यान मोड्नका लागि पशुपति सुन प्रकरण निकालेको उनको भनाइ छ ।

ओलीले आफ्नो पार्टी कमीसनको पछाडि लाग्ने पार्टी नभएको र देश विकासका साथै समृद्धिमा ध्यान केन्द्रित रहेको जिकिर गरे । उनले तत्कालीन अवस्थामा बदनाम गर्नका लागि एमालेका ईश्वर पोखरेलमाथि पानी ट्याङ्कीमा पैसा लुकाएको आरोप लगाइएको पनि बताए ।

अध्यक्ष ओलीले नेकपालाई अदालतले विघटन गरेको सही नभएको बताए । नेकपाको सट्टा अर्को नाम दर्ता गर्न अदालतले भन्दा प्रचण्डले नमानेको उनले बताए । त्यसपछि पनि विभिन्न शक्ति मिलेर एमाले फुटाएको समेत उनको भनाइ छ । 


Author

थप समाचार
x