दल

गौर हत्या काण्ड प्रभु साहको उक्सावटमा भएको हो : प्रदीप यादव

इकागज |
भदौ १२, २०८० मंगलबार १७:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरुमाथि ढुंगा नहान्न चेतावनी दिएका छन् ।​

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रभु साहले आफू सिसाको घरमा बसेर अरुमाथि ढुंगा हानेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् । उनले गौर हत्या काण्ड प्रभु साहकै उक्सावटमा भएको पनि बताए । त्यस्तै वीरगञ्जको कासि तिवारीको हत्या मुद्दा पनि प्रभु साहमाथि रहेको भन्दै उनले सो मुद्दाको पनि प्रक्रिया अगाडि बढ्नुपर्ने बताए ।


‘जसको घर सिसाको हुन्छ । अरुमाथि ढुंगा चलाउन कोसिस नगरे हुन्छ । प्रभु साह आफैँको धेरै मुद्दाहरू छन् । वीरगञ्जमा कासि तिवारीको जुन हत्या भएको थियो उहाँमाथि त्यो मुद्दा अहिले पनि विचाराधीन छ । अदालतमा छ । सुरक्षित छ । राज्यले त्यो पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ । गौर हत्याकाण्ड दुःखदायी घटना भयो । त्यो बेलाको इन्चार्ज प्रभु साह नै हुनुहुन्थ्यो,' उनले भने, 'उहाँको उक्सावटमा यो घटना भएको हो । त्यो बेलाको आयोगहरू बनेको थियो । त्यो आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपरो सरकारले । आयोगको प्रतिवेदनले दोषी देखाए स्वीकार्छौं ।’

यादवले गौर हत्याकाण्डको छानबिन गर्न बनेको तत्कालीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे । प्रतिवेदनले आफ्ना नेताहरूलाई दोषी देखाएको भए पनि स्वीकार्न तयार रहेको उनको भनाइ छ । 


Author

थप समाचार
x