दल

नेपालको चुच्चे नक्साको भाग नदेखाउनु चीनको त्रुटिपूर्ण व्यवहार : कांग्रेस नेता महर

इकागज |
भदौ १५, २०८० शुक्रबार १७:१६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चिनियाँ सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्सा) समावेश नगरिनु चीनको  त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन् । 

शुक्रबार नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ, तरुण दल र नेविसंघका नेताहरूसँग काठमाडौंमा भएको छलफल कार्यक्रममा नेता महरले चीनले जारी गरेको नक्साले नेपाल-चीनबीचमा सीमा समस्या रहेको विषय उजागर गरेको बताए । उनले त्यसलाई सच्याउन नेपाल सरकारले चीनलाई कूटनीतिक नोट पठाउनुपर्ने धारणा राखेका छन् ।


'चीन नेपालको असल छिमेकी हो । तर, नेपालको सहमतिबिना सन् २०१५ मा चीन र भारतले त्रिदेशीय नाका लिपूभज्याङ मार्गबाट दुई देशीय व्यापार सम्झौता गर्नु र अहिले चीनले आफ्नो नक्सामा चुच्चे भाग नराख्नुले नेपाल र चीनका बीचमा पनि सीमा समस्या छन् भन्ने पुष्टि हुन्छ,' उनले भने, 'सरकारले कूटनीतिक पहल लिएर यसको समाधान गर्नुपर्छ ।'

उनले भूगोल र जनसंख्याले कुनै मुलुक सानो र ठूलो भए पनि सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने बताएका छन् । एउटा छिमेकीले अर्को छिमेकीको अस्तित्व स्वीकार र सम्मान गर्न सक्नुपर्ने उनको धारणा थियो ।

‘नेपालको सार्वभौम संसद्ले पास गरेको चुच्चे नक्सा चीनले आफ्नो नक्सामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कूटनीतिक वार्ता गर्न र चुच्चे भूभागसहितको नक्सा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनु पर्छ,’ महरले भने ।


 


Author

थप समाचार
x