दल

पार्टीभित्र घात, अन्तर्घात प्रवृत्ति बाँकी नै छ : उपाध्यक्ष पौडेल

इकागज |
भदौ १६, २०८० शनिबार १६:५६ बजे

बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र अझै पनि घात, अन्तर्घातको प्रवृत्ति बाँकी रहेको बताएका छन् । एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

उनले गत चुनावको उदाहरण दिँदै भने, ‘चुनावमा अधिकांश स्थानमा जित्नै पर्ने ठाउँमा हारेको र जितेको ठाउँमा पनि बालबाल जितेको अवस्था छ । पार्टीभित्र अझै पनि घात, अन्तर्घात बाँकी रहेको छ ।’


उपाध्यक्ष पौडेलले एमालेलाई घेरा हाल्ने प्रयत्न सबैतिरबाट भएको बताए । तर, उनले एमालेलाई चक्रब्यूहमा कसैले पार्न नसक्ने दाबी गरे । उनले भने, ‘एमालेलाई घेरा हाल्न सकिएला, चक्रब्यूहमा पार्न कसैले सक्दैन ।

पौडेलले दलाल र बाह्य शक्ति पार्टी छाडेर गयो भनिए पनि पार्टीमा अहिले पनि त्यस्ता तत्वहरू रहेको उल्लेख गरे । उनले पार्टीमा रहेका ती तत्वहरूको निर्मम समीक्षा गर्न जरुरी रहेको पनि जिकिर गरे ।

पार्टीको नीति र विधिमा कुनै विवाद नरहेको बताउँदै उनले विवाद खडा गर्नेहरूको प्रयास पानीको फोका बन्ने बताए ।

पौडेलले पार्टी र गुट फरक विषय भएको जिकिर गर्दै गुट र पार्टी कहिल्यै सँगै हिँड्न नसक्ने भनाइ राखे । उनले भने, ‘गुट बनाउनेले पार्टी बनाउँदैन, पार्टी बनाउनेले गुट बनाउँदै हिँड्दैन ।’ उनले आफूले ४५ वर्षदेखि पूर्णकालीन राजनीति गरेको स्मरण गर्दै गुटबन्दी गरेर कहिल्यै नहिँडेको दाबी गरे ।

उपाध्यक्ष पौडेलले एमालेमा केपी ओलीको विकल्पको कुरामा सत्यता नभएको बताए । अहिले निर्विकल्प नेता केपी ओली भएको बताउँदै उनले त्यसको विकल्प खोज्न आवश्यक नभएको बताए ।


Author

थप समाचार
x