पार्टीले गरेका कामको बारेमा जनतालाई बुझाउनेछौं : उपाध्यक्ष भुसाल
ललितपुर- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीनमहिने अभियानमा पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताको पक्षमा गरेका कामबारे जनतालाई बुझाउने बताएकी छिन् ।
ललितपुर उपमहानगरपालिका वडा नं २२ बुङ्मतीमा आयोजित माओवादी केन्द्रको ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ र ‘जनजनमा माओवादी घर–घरमा माओवादी’ उद्घाटन कार्यक्रममा उपाध्यक्ष पम्फा भुसालले यस्तो बताएकी हुन् ।
अरु समय भोट माग्न र भोट प्राप्त गरेपछि धन्यवाद दिन आएको र अबको तीनमहिने रूपान्तरण अभियानमा जनताको गुनासो र सुझाव सङ्कलन गर्न जनताको घर–घरमा माओवादी पुग्ने उनले बताइन् ।
उपाध्यक्ष भुसालले भनिन्, 'भदौ १६ गतेदेखि सुरु भएको अभियान मङ्सिर १५ गते सकिएपछि जनताबाट प्राप्त भएका सुझाव र आलोचनालाई समीक्षा गरेर विधान सम्मेलन गर्नेछौँ । विधान सम्मेलनको तीन महिनापछि महाधिवेशनद्वारा नीति र विचारमा नयाँ विकास गरेर पार्टीलाई देशको सबैभन्दा अग्रगामी र सबैभन्दा क्रान्तिकारी शक्ति निर्माण गर्नेछौँ ।'
जनता र माओवादीको सम्बन्ध नङ र मासुको जस्तै हुँदा माओवादी बलियो हुने र माओवादी बलियो हुँदा परिवर्तनको एजेन्डा रक्षा हुने भएकाले जनतासँग माओवादी रूपान्तरण अभियान सुरु गरेको उनले बताइन् । जनताको नयाँ आलोचना र नयाँ सुझावले माओवादी केन्द्र नयाँ ढङ्गले अगाडि बढ्ने समेत उनले बताइन् ।
सरसफाइबाट सुरु भयो अभियान
जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको माओवादी केन्द्रले सरसफाइ गरेर उद्घाटन गरेको छ । ललितपुर महानगरपालिका–१८ मङ्गरगाउँ चोक र ललितपुर महानगरपालिका–२२ बुङ्मती बसपार्कमा सरसफाइ गरी माओवादी केन्द्रले अभियान सुरु गरेको छ ।
त्यसैगरी वडा नं २ सानेपालगायत ललितपुरका अन्य वडामा पनि आज एकैसाथ सरसफाइसहित अभियानको सुरुआत गरेको छ । जनताको घर–घरमा माओवादीका नेता तथा कार्यकर्ता पुगेर जनताको समस्या, सुझाव र आलोचना सङ्कलन गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया