दल

सरकारले नेपालको चुच्चे नक्सा राख्न चीन सरकारलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ : एमाले

इकागज |
भदौ १८, २०८० सोमबार २०:४२ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) लाई मान्यता दिन कूटनीतिक नोट पठाउनुपर्ने बताएको छ 

एमालेका सचेतक महेश बर्ताैलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कूटनीतिक नोट तत्काल पठाउनुपर्ने बताएका हुन् । सोमवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले चीन सरकारलाई सो नक्सा सच्याउन नेपाल सरकारले अविलम्ब पहल गर्नुपर्ने बताए ।


चीनले नेपालको नक्सा पनि समेट्दा पुरानै नक्सालाई मान्यता दिनु दुःखद भएको उल्लेख गर्दै सचेतक बर्तौलाले त्यसलाई कूटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकार लाग्नुपर्ने बताए ।

सचेतक बर्तौलाले एमाले आफ्नो एक इन्च भूमि छोड्ने पक्षमा नरहेको दोहोर्याए । उनले नेपालको भुगोलबारे अन्यथा टिप्पणी गर्ने अधिकार अरु राष्ट्रलाई नभएको पनि दोहोर्याए ।

 


Author

थप समाचार
x