दल

प्रधानमन्त्रीले अराजक किसिमले बोल्न मिल्दैन : कांग्रेस नेता कोइराला

इकागज |
भदौ १९, २०८० मंगलबार १५:५४ बजे

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाइ थियो । पार्टी निकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए ।


उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने समेत बताए ।

नेता कोइरालाले भने, ‘देश अराजकतातिर बढ्न गएको भन्ने खबर २/३ दिन पहिले कहिले हो ? काठमाडौँका मेयरले जुन बोल्नुभयो । एउटा देशको सबैभन्दा ठूलो महानगरको मेयरले, त्यो अराजक किसिमले बोल्नु हुँदैन । देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौं भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यो कुराहरूलाई गम्भीर रूपले पार्टीले पनि लिनुपर्छ, कर्मचारीहरूले पनि लिनुपर्छ ।’

नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई बोलाएर पार्टी निकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए । उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गरे । 


Author

थप समाचार
x