बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई तोड्न चाहन्छुः ओली
फाइल फोटो
काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने बताएका छन् ।
अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पारे । शनिवार भक्तपुरमा आयोजित विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताए । त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेको समेत बताए । बाँचुन्जेलसम्म पद छोड्ने नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको उनको भनाई थियो । ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको जिकिर गर्दै अबको २० वर्षपछि त्यस्तो अवस्था देख्न नपर्ने समेत बताए ।
उनले भने, ‘अब २० वर्षसम्म मेरो अवसेन्स हुँदैहुँदैन । पहिले म अलि बिरामी थिएँ । मैले धेरै पटक अपरेशन गर्नुपर्यो । २ पटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्यो । अहिले मैले ट्रान्सप्लान्ट गरेको किड्नीले धेरै राम्ररी काम गरिराखेको छ । कुनै प्रकारको समस्या छैन । अर्को कुरा अहिले पनि मेरो बुबा लगभाग म जत्तिकै तगडा हुनुहुन्छ । मेरो बुबा नै म जतिनै तगडा हुनुहुन्छ भने, अहिले पनि २÷४ किलोमिटर मेरो बुबानै हिँड्नुहुन्छ भने मेरो बुबाले लौरो टेक्नुहुन्न अहिले पनि । मेरो बुबा नै त्यति तगडा हुनुहुन्छ भने मैले २० वर्ष त सक्रिय रहने विचार गरेको छु अब । तर २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन । नेतृत्व गर्नेहरुलाई सहयोग गर्छु सक्रिय रहेर । एउटा के प्रचलन छ भने मान्छे बाँचुन्जेलसम्म पद छोड्ने नखोज्ने, पदमै टाँसिन खोज्ने, आवश्यक्ता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस् । बोल्न सकोस कि नसकोस् । तर पनि पदमा बसिरहन चाहने । त्यो प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई चाहीँ मैले सचेतनतापूर्वक तोडन चाहन्छु । आफू सक्रिय रहँदारहँदै कार्यभार अरुलाई सुम्पिएर सहयोग गर्ने देश चलाउनका लागि । अब २० वर्षपछि नेपाल हामी नेपालको दुर्दशाको, नेपालको दूरदिनको अन्तिम किस्तामा छौं । यो अहिलेको दूर्दशा, दूरदिन भनेको नेपालको अन्तिम दूरदिन हो । यसभन्दा पछि यस्तो दूरदिन देख्नुपर्दैन । आज विकास निर्माणको चर्चा छैन । उत्पादन बढेको छैन, घटेको छ । विकास निर्माण भएको छैन, ठप्प छ । सुशासन होइन, कुशासन छ । आर्थिक स्वच्छता, पारदर्शिता होइन, तस्करी, कमिशनखोरी, भ्रष्टाचारीको बिगबिगी छ ।’
अध्यक्ष ओलीले आफूले नेपालबिरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकिरहेको उल्लेख गर्दै नयाँ पुस्ताले त्यसलाई पराजित गरेर अघि बढ्नुपर्ने बताए । उनले आफूलाई देश र जनताप्रति माया गर्ने इमान्दार राजनीतिकर्मीको रुपमा बुझिदिन पनि आग्रह गरे ।
ओलीले भने, ‘मेरा केही असफलताहरु छन् । मैले नेपालबिरुद्धको षड्यन्त्रलाई पराजित गर्न सकिराखेको छैन । तपाईहरुले ती षड्यन्त्रहरुलाई पराजित गर्नुपर्दछ । र, नेपाललाई साँच्चैको सार्वभौम, साँच्चैको स्वतन्त्र, साँच्चैको स्वाधिन, आफ्नो भुगोलको बिल्कुलै रक्षा गर्नसक्ने र राष्ट्रिय हीतको रक्षा गर्नसक्ने र राष्ट्रिय स्वाभिमानको झण्डामाथि उठाउन सक्ने हुनुपर्दछ । म तपाईहरुसँग त्यो अपेक्षा गर्दछु । त्यसैले म आफूलाई अब्बल राजनीतिज्ञ त भन्न सक्दिन आफूलाई । यति चाहीँ हो–म इमानका साथ काम गर्छु । इमान्दार प्रयास गर्छु । देशलाई माया गर्छु, जनतालाई माया गर्छु । राष्ट्रको सम्पती कुनै हिसावले आफ्नो बनाउनु हुन्न भन्ने मान्यता राख्दछु ।’
कार्यक्रममा ओलीले आफूलाई देशभक्तिले ओतप्रोत भएको गीत बढी मनपर्ने पनि बताएका थिए । उनले विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रमबाट आफू खुशी भएको प्रतिक्रिया समेत दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया