दल

गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह

इकागज |
असोज २, २०८० मंगलबार ११:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताएका छन् ।

मंगलबार काठमाडौँको शोभा भगवतीमा गणेशमान सिंह को २६ औँ स्मृति दिवसको अवसरमा उनको शालिकमा माल्यापर्ण गर्दै उनले यस्तो बताएका हुन् ।


उनले सरकार गठन हुँदा भएको दलहरुबीचको समझदारीलाई नै सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने बताए । उनले समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको बताए । उनले पार्टी भित्र काँग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आएपनि व्यक्तिगत कुरामा भन्दा केन्द्रीय समितिले गरेको निर्णय आधिकारिक हुने बताए ।

उनले भने, ‘यो डेमोक्रेसीको विशेषता नै के हो भने खुला रुपमा हुन्छ सबै कुरा । यो सरकार गठन भएर फेरि विघटन भएर फेरि गठन हुँदा जुन दलहरुबीचको समझदारी हो त्यसलाई सबै दलले कार्यान्वयन गरेर जाँदा नै यो देशको राजनीतिक अस्थिरतालाई स्थिरतामा परिणत गर्न र समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सक्छौँ । गठबन्धन हुँदा जे समझादारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ । लाखौँ नेता र कार्यकर्ता भएको पार्टीमा कसले कुन सन्दर्भमा के बोल्छ भन्नेकुरा पार्टीको आधिकारिक धारणा हुँदैन । केन्द्रिय समिति बसेर गरेको निर्णय नै आधिकारिक हुन्छ ।’

नेता सिंहले संविधानको भावना र मर्मअनुरुप चाँडो भन्दा चाँडो तीन तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने बताए ।


Author

थप समाचार
x