दल

झलनाथप्रति माधव नेपालको कटाक्ष : ज्ञान हुनेहरूले पार्टीका समस्या बाहिर भन्दैनन्

इकागज |
असोज ४, २०८० बिहीबार १५:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

केही दिनअघि अध्यक्ष नेपालले पार्टीका नेताहरूको कार्यविभाजन गरेका थिए । अध्यक्ष नेपालले गरेको कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालसहित अन्य नेताहरूले समेत असन्तुष्टि जनाउँदै आएका छन् । सोही प्रसंगलाई लिएर उनले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताए । उनले अनुशासनको ज्ञान हुनेहरूले पार्टीका समस्या बाहिर नभन्ने बरु पार्टीकै बैठकमा राख्ने जिकिर गरे ।


अध्यक्ष नेपालले पार्टीको हित नचाहनेहरू फरक किसिमले चल्ने बताए । उनले नमिलेका कुरालाई मिलाएर लैजान सकिने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै उनले कृषि उत्पादनमा नेपाललाई राम्रो मुलुकका रूपमा विकसित गर्न सकिने उल्लेख गरे । उनले खाद्यान्न उत्पादन, कृषि उत्पादन, कृषिजन्य उद्योगधन्दाको विकास गर्ने हिसाबले अघि बढ्न सुझाव दिए । उनले कृषिको विकासमा जोड दिने हो भने देशको अर्थतन्त्र बलियो हुने बताए ।  

अध्यक्ष नेपालले विद्यालय शिक्षा विधेयकका बारेमा सरकारले सम्बन्धित पक्षसँग वार्ता गरेर उचित ढंगले उनीहरूका माग सम्बोधन गर्नुपर्ने बताए ।  


Author

थप समाचार
x