दल

शिक्षकलाई सम्मान भएन भने राज्य अराजकतातिर जान्छ : पौडेल

इकागज |
असोज ४, २०८० बिहीबार १५:३८ बजे

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले समाजमा शिक्षकलाई सम्मान नभए राज्य अराजकतातिर जाने टिप्पणी गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले बिहीबार एक भिडियो सन्देश जारी गर्दै शिक्षकका जायज मागहरू सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए । 

आन्दोलित शिक्षकहरूका कतिपय मागहरू जायज भएको र त्यसमा आफ्नो पूर्ण समर्थन रहेको उनको भनाइ छ । प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयकमा जायज विषयहरू सदाका लागि समाधान हुने गरी सरकार गम्भीर हुन आवश्यक रहेको उनले बताए । 


‘प्रस्तावित विधेयकका केही विषयहरू करेक्सन हुनुपर्ने भन्दै अहिले भइरहेको शिक्षकको आन्दोलनप्रति मेरो समर्थन छ । खासगरी विधेयकमा शिक्षकको ग्रेडिङको कुरा, मर्यादाको कुरा, लामो समयसम्म सेवा गरिसकेपछि आन्तरिक प्रतिस्पर्धाबाट फेरि उहाँहरूलाई फेरि सेवामा जोड्ने कुरा, आन्तरिक प्रतिस्पर्धाबाट योग्य ठहरिन नसक्नेहरूलाई गोल्डेल चेक दिएर सम्मानसाथ बिदा गर्नुपर्नेलगायत उहाँहरूले उठाउनुभएका कुराहरू जायज छन्,’ उनले भने । 

पौडेलले अगाडि भने, ‘त्यसका साथ साथै इसीडी, विद्यालयका कर्मचारी, सहयोगी सम्बन्धित उहाँहरूले उठाइरहनुभएका कुरामा राज्यले निर्णय गर्दा ठूलो भार पनि पर्दैन ।’

शिक्षकका जायज माग सम्बोधन हुनु आजको आवश्यक भएको र त्यो गर्न अर्थमन्त्रालय, कानुन मन्त्रालय, स्थानीय नगरपालिका, गाउँपालिका महासंघले प्रचलित कानुन नबाझिने कुरा भूमिका खेल्नुपर्ने पनि उनको भनाइ छ ।

सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गरेको छ । यसलाई लिएर देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् । 


Author

थप समाचार
x