दल

विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नहोस् : रास्वपा

इकागज |
असोज ४, २०८० बिहीबार १६:२४ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय अपनाएर विद्यालय सञ्चालन गर्न रास्वपाले आग्रह गरेको हो ।

‘शिक्षकहरूको पेसागत विकासका मागहरूमा हामी एकै ठाउँमा उभिन तयार छौँ,’ रास्वपाको विज्ञप्तिमा लेखिएको छ, ‘साथै शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरूप्रति हार्दिक अनुरोध गर्दछौँ ।’


रास्वपाले विद्यालय शिक्षा विधेयकमा सराेकारवालासँग छलफल गरेर संशोधन प्रस्ताव राख्ने समेत बताएको छ । ‘हालै संसदमा दर्ता भएको शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै देशभरबाट शिक्षकहरूले काठमाडौँमा थालेको आन्दोलनप्रति हामी संवेदनशील रहेको सम्बन्धित सबै सरोकारवालालाई अवगत गराउन चाहन्छौँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘ राष्ट्रिय स्वतन्त्र पार्टीले यो संवेदनशील “विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०” का सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गरिरहेको छ । सरोकारवाला र विज्ञहरूसँग परामर्श गरी रास्वपाले यस विधेयकका सम्बन्धमा आफ्नो धारणा तथा संशोधन प्रस्ताव राख्नेछ ।’

रास्वपाले शिक्षकको तलब सुविधा सबभन्दा धेरै हुनुपर्छ भनी स्थापनाकालदेखि नै पटकपटक आवाज उठाउँदै आएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 


Author

थप समाचार
x