'महिला अघि बढ्नु भनेको पुरुष पछि पर्नु होइन'
काठमाडौँ- काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलले महिला र पुरुष सँगसँगै अघि बढे मात्र पार्टी अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एमालेले देखेको ‘समृद्ध नेपाल सुखी नेपाल’ सपना पूरा हुने बताएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ महानगरपालिकाको जनसंठन अखिल नेपाल महिला संघको पहिलो अधिवेशनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएकी हुन् ।
महिला अघि बढ्नु भनेको पुरुषलाई पछि पार्नु नभएको बताउँदै उनले भनिन्, ‘हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेले देखेको समृद्ध नेपाल सुखी नेपालीको नारा महिला र पुरुष सँगसँगै एकजुट भएर अघि बढ्यो र एकअर्कालाई साथ दियौँ भने मात्र बल्ल यथार्थमा बदलिन्छ ।’
युवा पुस्तालाई पनि सँगसँगै लिएर एकजुट भएर अघि बढ्ने हो भने नेकपा एमालेलाई अझ सशक्त बनाउन सकिने उनले बताइन् ।
यस्तै, काठमाडौँ महानगरपालिका इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयालले महिलाहरू गर्भदेखि चिहानसम्म अझै विभेदमा रहेको बताउँदै सोको अन्त्यका लागि महिला सशक्तीकरणको मुद्दा नेकपा एमालेले मूल मुद्दाको रुपमा उठाएको बताए ।
उनले भने, ‘नेपालमा अझै बोक्सी लाग्दैछ, छाउपडी प्रथा अझै छ, सामन्तवादका धेरै अवशेष बाँकी छन् ।’
उनले नेकपा एमालेले गाँस, बास, शिक्षा र स्वास्थ्यमा सुधारका लागि आर्थिक, सामाजिक र सांकृतिक क्रान्तिमार्फत् समुन्नत नेपाल बनाउने बताए । अधिवेशनमा बाजागाजासहित महिलाको बाक्लो उपस्थिति थियो । साथै विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।
झाँकी शान्तिबाटिका सुरु भएको र्याली रत्नपार्क, बागबजार, पुतलीसडक, पद्यमोदय विद्यालय, प्रदर्शनमार्ग राष्ट्रिय सभागृहमा पुगेको थियो ।
र्यालीमा उपस्थित महिलाले ‘महिला हिंसा अन्त्य गर्’, छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गर्’, भ्रष्टचारीलाई कारबाही गर्’, संविधानलाई कार्यान्वयन गर’, बढ्दो महंगी नियन्त्रणजस्ता नारा तथा प्लेकार्ड प्रस्तुत गरेका थिए ।
काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले अखिल नेपाल महिला संघले नेपालको राजनीतिक इतिहास परिवर्तनमा अहम् भूमिका खेलेको बताउँदै एकै रथका दुई पांग्रा मानिने पुरुष र महिला सँगसँगै भए मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुने उनको भनाइ थियो ।
काठमाडौँ महानगर इन्चार्ज तथा पूर्वमन्त्री आनन्द पोखरेल, काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्य, नेकपा केन्द्रीय सदस्य तथा पूर्वसांसद नारायण सिलवाल, काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौँ जिल्ला सचिव राजेश शाक्यलगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया