हाम्रो टोली फर्किन मगाइएको प्लेन थियो, चिकित्सकले अनावश्यक स्टन्टबाजी गरे : मातृका यादव
काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं कर्णाली प्रदेश ईञ्चार्ज मातृका यादवले मुगुको ताल्चा विमानस्थलमा डाक्टरहरूले स्टन्ट गरेर भ्रम फैलाएको बताएका छन् । आज बिहान ताल्चा विमानस्थलमा १६ जना चिकित्सकहरू मुगुको ताल्चामा छुटेकाे समाचार सार्वजनिक भएको थियो । सार्वजनिक समाचारको सार- समिट एअरले उडानकाे अन्तिम समयमा १६ मध्ये केही चिकित्सकहरूलाई लैजान नसक्ने बताएको थियो।
किनकी उक्त प्लेनमा माओवादीका नेताहरूलाई लिएर नेपालगञ्ज उडेको थियो । तर माओवादी उपमहासचिव एवं कर्णाली प्रदेश ईञ्चार्ज यादवले समिट एअर आफूहरूलाई नै लिन नेपालगञ्जबाट मुगु पुगेको बताएका छन् ।
कर्णाली प्रदेश ईञ्चार्ज यादवले इकागजसँग कुराकानी गर्दै चिकित्सकहरूले स्टन्टबाजी गरेको आरोप लगाएका छन् ।
‘कर्णाली प्रदेशमा त प्लेनमा पनि राजनीति हुँदो रहेछ,’ यादवले इकागजसँग भने, ‘हाम्रो हिजो काठमाडौँ फर्कने योजना थियो । तर काठमाडौँबाटै प्लेन बिग्रिएर आएनौँ । हामीसँग कर्णलीको प्रथम मुख्यमन्त्री हुनुहुन्थ्यो । हामीसँग कर्णाली पार्टी अध्यक्ष विमला केसी पनि हुनुहुन्थ्यो । मुख्यमन्त्री शाहीज्यूले हामी अलपत्र प¥यौँ भनेर समिट एअरका म्यानेजरलाई फोन गरेर जहाज पठाइदिनु भनेपछि उहाँले हाम्रा लागि जहाज पठाइदिनुभएको थियो । हिजै पठाइदिनु भन्नुभएको थियो । तर हिजो अन्तै गएछ । दिउँसो हावा चलेर सम्भव भएको थिएन । भोलि बिहानै पठाइदिन्छु भन्नुभएको थियो । त्यो हामीलाई लिन आएको प्लेन थियो ।’
‘हिजो राति हामीले बुक गरेको होटलमा पनि डाक्टरहरू हल्लाखल्ला मच्चाएर नेताहरू को हो भनेर निहुँ खोजे । त्यसपछि हामी होटल नै चेन्ज गरेर अर्को होटलमा गएर बस्यौँ' यादवले भने 'डाक्टरहरूमा नेताहरू देख्नेबित्तिकै निहुँ खोज्ने प्रवृत्ति रहेछ ।'
उक्त फ्लाइटमा सबै जान सम्भव नभएकाले आफूहरूले केही बिरामी र कार्यक्रममा गएका २ जना पिएसो र २ डाक्टरबाहेक अन्यलाई सँगै जान आग्रह गरे पनि डाक्टरहरूले १६ जनामा एक जना छुट्न नहुने भनेर समस्या निकालेको बताए ।
यादवले भने, ‘डाक्टरहरूले हाम्रो टिकट थियो भन्नुभएको रहेछ । त्यस्तो केही थिएन । त्यो स्टन्टबाजी थियो । डाक्टरले प्लेन आएपछि हाम्रो टोली सबै जानुपर्छ भनेर अडान लिए । १६ जनामा एक जना पनि छुट्नु हुँदैन भनेपछि समस्या भएको थियो । हामी पिएसो लाँदैनौँ । तपाईहरूको पनि २ जना मान्छे घटाउनुहोस् भनेका थियौँ । तर उहाँहले एक जनाले पनि मान्नुभएन ।’ अहिले चिकित्सकहरु अर्को एयरलाइन्समा फर्किसकेको समेत नेता यादवले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया