महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइनः केपी ओली
काठमाडौँ–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिबलाई नभइ गरिबी हटाउनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले ई:काे आन्दाेलनलाई लक्षित गर्दै फेसबुकमा एक पोस्ट लेख्दै यस्तो बताएका हुन् ।
‘हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन,’ उनले लेखेका छन्, ‘समाधानको उपाय के हुन सक्छ, तपाईहरुको विचार पनि राख्नुस् है !’ उनले परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी सोच्नुपर्ने समेत बताएका छन् । फुटपाथको व्यापार परम्परागत नेवारी व्यापार संस्कृतिको अंश अंश पनि भएको उनको भनाइ छ ।
‘हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैनहोला, मेरो पनि छैन,’ उनले लेखेका छन्, ‘कुरा परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो। फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।’
ईः लगायत अभियन्ताहरू ८ दिनदेखि राष्ट्रियसभा गृहअगाडि उभिएर आन्दोलन गरिरहेका छन् । उनीहरू काठमाडौँ महानगरले फुटपाथ व्यापारीलाई व्यापारका लागि निश्चित ठाउँ र समय दिएर व्यवस्थापन गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
ईःसँग वार्ता गर्न मंगलबार काठमाडौँ महानगरले वार्ता टोली गठन गरेको छ । आन्दोलनरत पक्षसँग उपमेयर सुनिता डंगोलले पनि आज बिहान भेट गरेकी छन् । ओलीले उपमेयरलाई छलफल गरेर समाधान निकाल्न पनि अनुरोध गरेका छन् ।
‘उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ,’ उनले लेखेका छन्, ‘दुवै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधान निकाल्नुहोस् ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया