दल

संसद्‍मा पेस गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन हुन्छ : कांग्रेस

इकागज |
असोज ९, २०८० मंगलबार १८:६ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले संसदमा पेस गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ ।

मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरूले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरूको मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्ने प्रतिबद्धता जनाएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाहरूले आफूहरूको माग सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए ।


सरोकारवाला निकायका मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न प्रतिबद्धता पार्टीको तर्फबाट प्रतिबद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले आफ्नो पार्टीले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधबार (भोलि) अपरान्ह १ बजे विज्ञहरूसँग पनि छलफल कार्यक्रम तय गरिएको बताए ।

यता, सरोकारवाला निकायहरूले राहत शिक्षक र बाल विकासका शिक्षकहरूको माग पनि सम्बोधन हुने गरी सो विधेयक संसदबाट पारित गराउन कांग्रेस नेतृत्वलाई सचेत गराएका थिए । सबै शिक्षकहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी सो विधेयक संशोधन गर्न नेताहरूको ध्यानाकर्षण गराइएको नेपाल शिक्षक राष्ट्रिय महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन् ।

छलफलमा कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको उपस्थिति रहेको थियो ।

 


Author

थप समाचार
x