दल

सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै छ : ओली

इकागज |
असोज ९, २०८० मंगलबार १८:१५ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताएका छन् ।

मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको अध्यक्ष ओलीको जिकिर थियो । मंगलबार काठमाडौँमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउने बाहेक सरकारसँग अरु फुर्सद नै नभएको बताए । नाजुक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उठाउन सरकारसँग कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने चाहना नै नभएको ओलीको भनाइ थियो ।


अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभए पनि २०८४ सालको निर्वाचनसम्म पर्खंदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने हो कि भन्ने चिन्ता लागेको पनि बताए । मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिए पनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको उनले दाबी समेत गरे ।

अध्यक्ष ओलीले व्यवसायीहरूका समस्या समाधानका लागि सरकारसँग छलफल गर्ने आश्वासन पनि दिए । त्यसैगरी उनले चर्को ब्याजदर व्यवसायीहरूलाई नलिन नेपाल राष्ट्र बैंकलाई सचेत समेत गराए ।


Author

थप समाचार
x