दल

एमाले बागमती प्रदेश अधिवेशन लम्बियो, ११ गते मतदान हुने

इकागज |
असोज ९, २०८० मंगलबार २२:१६ बजे

मकवानपुर - नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको अबधी लम्बिएको छ । असोज ८, ९ र १० गतेका लागि तय भएको अधिवेशन अरू १ दिन लम्बिएको हो । 

नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास सफल हुन सकेन । निर्वाचन मार्फत पदाधिकारी चयन गर्नु पर्ने भएकोले अधिवेशन लम्बिएको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २ सय ४० सदस्यीय पहिले भन्दा सानो नयाँ नेतृत्व चयन गर्दैछ ।


असोज ८ गते उद्घाटन गरिएको अधिवेशनको आज बन्द सत्र सकिएको छ । बन्द सत्रले बागमती प्रदेश इन्चार्ज समेत रहेका गुरु बरालको नेतृत्वमा ११ सदस्यीय निर्वाचन मण्डल गठन भएको छ । निर्वाचन मण्डलको सदस्यहरूमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौँलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ छन् ।  

नेतृत्व चयनपछि अधिवेशन समापन हुने भएकाले अधिवेशन अवधि लम्बिएको हो । १ दिन लम्बिएको गरिएको अधिवेशन अन्तर्गत असोज १० गते बिहान ९ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने तालिका सार्वजनिक गरिएको छ । यस्तै बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र असोज ११ गते बिहान ८ बजे मतदान सुरु हुने अधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।

केन्द्रीय नेताहरूले समेत चासोका साथ हेरेको अधिबेशनमा नेतृत्वका लागि आकांक्षीहरूको लर्को लाग्दा अधिवेशन थप रोचक बनेको ती प्रतिनिधिले बताए ।

एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । प्रदेश अध्यक्ष पदका लागि नेताहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, केशव पाण्डे र सानु श्रेष्ठले आकाङ्क्षा देखाएका छन् ।

अध्यक्षमा पाँच आकांक्षा देखिए पनि अन्तिममा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने देखिएको अधिबेशन प्रतिनिधि बागमतीका नेता बताउछन्  । आकांक्षीहरूले एकले अर्कालाई छोड्न तयार नभएकाले निर्वाचनमार्फत नै नेतृत्व चयन गर्नु पर्ने अबस्था आएको हो ।

सोमबार भृकुटीमण्डपमा अविधेशनको उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले प्यानल बनाएर प्रतिस्पर्धामा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि दबाब सहितको आग्रह गरेका थिए ।

लुम्बिनी प्रदेशमा आफ्नो इच्छा विपरीत नेतृत्व चयन भएपछि बागमतीमा पनि प्रतिस्पर्धा हुने बुझेका ओलीले ‘प्रतिष्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुने बताएका हुन ।  

प्रदेश अधिवेशनको उद्घाटन सभा गृहमा भएकोमा बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा भएको थियो । मतदान पार्टी कार्यालय च्यासलमा हुने बताइएको छ ।


Author

थप समाचार
x