दल

दूरसञ्चारमा हुने चुहावट र भ्रष्टाचारलाई रोक्नुपर्छः अध्यक्ष लिङदेन

इकागज |
असोज १०, २०८० बुधबार १९:५७ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल दूरसञ्चार प्राधिकरणमा हुने चुहावट र भ्रष्टाचार रोकिनुपर्ने बताएका छन् । 

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले विगत पाँच वर्षदेखि दूरसञ्चार प्राधिकरणबाट प्राप्त हुने राजश्व कमि भइरहेको बताए । उनले उपभोक्ताहरू बढिरहेको तर राजश्व भने घटिरहेको भन्दै यसप्रति गम्भीर हुनुपर्ने बताए । उनले प्राधिकरणमा भ्रष्टाचार भइरहेको कुरा आएको उल्लेख गर्दै यस विषयमा समितिमा पनि छलफल गर्नुपर्ने बताए । प्राधिकरणले भित्र्याउन खोजेको प्रविधि उपयुक्त नभएमा अन्य प्रविधि भित्र्याउनुपर्ने बताए । उनले प्राधिकरणमा भइरहेको चुहावट र भ्रष्टाचार रोक्नुपर्ने बताए । 


उनले भने, ‘डेडिकेटेड लाइनको बारेमा राजस्व असुली बाँकी छ भनेर भनिएको छ । त्यो असुली हुने हो कि होइन आफ्नो ठाउँमा छ । तर त्यसलाई आम्दानी देखाएर प्राधिकरणलाई धेरै नाफामा गएको संस्थाको रुपमा अहिले स्थापित गरिएको छ । सँगसँगै त्यो नआउने पैसाको कर समेत प्राधिकरणले तिरिराखेको छ । त्यसकारण यसको चाँडै टुंगो लगाउन जरुरी छ । गएको पाँच वर्षदेखि लगातार रुपमा हामीले दूरसञ्चारबाट प्राप्त गर्ने राजश्वमा कमी आएको आएकै छ । घटेको घटेकै छ । तर उपभोक्ताहरू बढेको बढेकै छ । छिमेकी देशहरूको यसतर्फको राजश्व बढेको बढेकै छ । तर हाम्रो घटेको छ । र यो घट्ने फेरि चानचुने अंकमा छैन । खर्बौमा छ । ठूलो अंकमा हाम्रो राजश्व खेर गइरहेको छ । भ्रष्टाचार भइरहेको छ भन्नेकुरा आएको हुनाले यसमा हामीले उच्च प्राथमिकता राखेर छलफल गर्नुपर्छ । यो नियमनको लागि जुन प्रविधि भित्र्याउन खोजिएको छ त्यो उपयुक्त छैन भने अर्को कुन हो, तर नियमन गर्नुपर्छ र नियमन हुनुपर्छ । यस प्रकारको चुहावट, यस प्रकारको भ्रष्टाचार रोकिनुपर्छ ।’


 

 


Author

थप समाचार
x