देश र जनताको हितका निम्ति नेकपा एस अग्रपंक्तिमा उभिन्छ : माधव नेपाल
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश र जनताको हितको निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताएका छन् । अध्यक्ष नेपालले समाजवादी जागरणको माध्यमबाट रोजगारी, सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले ‘मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार’ कार्यक्रम सुरु गर्न लागेको पनि स्पष्ट पारे ।
यही असोज १४ गतेबाट सो पार्टीले झापाको मेची नदी किनारबाट सो अभियानको शुभारम्भ गर्दैछ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरबाट सो अभियानको पहिलो तयारी टोलीलाई बिदाई गर्दै अध्यक्ष नेपालले सो अभियानले आम जनतामा समाजवादप्रति उत्साह ल्याउने र पार्टी कार्यकर्ता पंक्तिमा पनि जागरण ल्याउने विश्वास व्यक्त गरे ।
उनले सो अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे । अध्यक्ष नेपालले अभियानको क्रममा विभिन्न जिल्लाहरूमा विभिन्न कार्यक्रमहरू आयोजना हुने र त्यसले समाजवादको सन्देश आम जनताको घरदैलोमा पुर्याउने बताए ।
‘यो यात्राले समाजवादको सन्देश, समाजवादीप्रति हाम्रो पार्टीको दृष्टिकोणहरू, धारणाहरू र देशको राजनीतिलाई कसरी सकारात्मक दिशामा लिएर जाने हो, संविधानप्रतिको विश्वास कसरी बलियो बनाउने हो, सुशासनको पक्षमा राज्य चलोस् भन्ने हाम्रो धारणा जनताको माझमा कसरी प्रस्तुत गर्ने हो भन्ने कुरादेखि लिएर रोजगारीका समस्याहरू, त्यसैगरी समृद्धिका समस्याहरू, समानता र न्यायका समस्याहरू अगाडि सारेर हामीले सुशासन, विकास, उत्पादन, रोजगारी र समृद्धिको यो तीनवटा नारा हामीले अगाडि सारेका छौँ,’ उनले भने ।
अध्यक्ष नेपालले अभियानका क्रममा पार्टीको सदस्यता विस्तारको काम पनि हुने बताए । उनले अनुसार सो अभियान असोज २८ गते महाकाली नदीको किनारामा पुगेर समापन हुनेछ । अभियानका क्रममा रोजगारी, सुशासन र समृद्धिको पक्षमा नारा घन्काउने, समाजवादप्रतिको पार्टीको धारणाहरू आम जनतालाई जानकारी गराउने लगायतका जनपक्षीय कामहरू हुने पनि उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया